आमा गुमाएको चार दिनमै बलिउड अभिनेता इरफानले संसार छाडे, यस्तो छ इरफानको जीवन–कथा

Share:

वैशाख १७ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। उनको आज बिहान मुम्बईमा निधन भएको हो।  हिजो मंगलबार बाथरुममा लडेका ५४ वर्षीय खानको आज बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो। बाथरुममा लडेपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

इरफान सन् २०१८ देखि क्यान्सरसँग लडिरहेका थिए। दुई वर्ष अघिमात्र इरफानले आफ्नो बिमारीको बारेमा थाहा पाएका थिए। उनलाई न्युरो इन्डोक्राइन ट्युमर भएको छ। इरफानले ट्विट गर्दै आफूलाई सो रोग लागेको खुलासा गरेका थिए। उनको बेलायतमा पनि उपचार भएको थियो।

उनले अभिनय गरेको अन्तिम फिल्म अंग्रेजी मिडियम’ हो। जुन भारतमा लकडाउन हुन अघिल्लो दिन रिलिज भएको थियो। लकडाउन भएपछि प्रदर्शन रोकिएको थियो। उक्त फिल्मको छायांकनलगत्तै उनी उपचारको लागि बेलायत पुगेका थिए। उनले ब्लकब्सटर फिल्म मक्सुद, पिकु, पान सिंह तमोर, स्मलडक मिलेनियर, लाइफ अफ पिलगायतका फिल्ममा अभिनय गरेका थिए।

इरफानकी आमाको चारदिन अघि मात्रै निधन

बुधबार बिहान मृत्युवरण गरेका बलिउडका उत्कृष्ट अभिनेता इरफान खानकी आमाको चार दिन अघि मात्रै मृत्यु भएको थियो । उनकी आमा साइदा बेगमको गत शनिबार मृत्यु भएको हो । उनी ९५ वर्षकी थिइन् । आमाको निधन भएसँगै इरफान बिरामी परेको बताइएको छ।

खराब स्वास्थ्य र लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित हुन नसकेको भारतीय सञ्चार माध्यमले बताएका छन् । इरफान खान राजस्थानको टोंकको नवाबी खानदानसँग सम्बन्धित थिए । उनको वाल्यकाल पनि टोंकमा नै बित्यो । उनका आमा–बुवा दुबै टोंकमा बस्दथे ।


इरफानको जीवन–कथा

 बलिउड हुँदै हलिउडमा समेत ख्याती कमाएका इरफान खान भारतको जयपुर, राजस्थानमा सन् १९६७ जनवरी ७ मा जन्मिएका थिए ।  इरफानका पिता साहबजादा यासीन अली खान उद्यमी थिए । आमा गृहणी । उनका दुई भाई छन्, सलमान खान र इमरान खान । रुखसाना बेगम नामकी एक बहिनी छिन् ।

उनले राष्ट्रिय नाट्य विश्वविद्यालयबाट प्रशिक्षण लिए । सन् १९९५ मा इरफानले सुतपा सिकदरसँग विवाह गरे । सुतपा पनि राष्ट्रिय नाट्य बिद्यालयमै आवद्ध थिइन् । उनीहरुको कोखबाट दुई छोरो जन्मिए, अयान खान र बबिल खान ।

करियरको पूवाद्र्धमा इरफान खान कार्टुन बनाउथे । स्थानिय अखबार दैनिक भास्कर र स्वदेशमा उनले कार्टुन बनाए । दिल्लीको श्रीधरणी आर्ट ग्यालरीमा आफ्नो चित्र प्रदर्शन गर्ने क्रममा उनी नवभारत टाइम्समा जोडिए । त्यसपछि उनी अरु थुप्रै मूलधाका पत्रिकामा कार्टुन बनाउन थाले ।

बरिष्ठ कार्टुनिस्टको चिनारी बनाइरहेकै बेला उनले आफ्नो टक शो होस्ट गरे, एनडिटिभीमा । यो सन् २००३ को कुरा हो । पछि एशियाई कार्टुन प्रदर्शनीमा पनि उनी भारतको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकमा कार्टुन देखाउन पुगेका थिए ।

त्यसबेला उनी करियरको सुरुवाती चरणमा थिए । उनी सडकमा थिए । दुखपूर्ण जीवन थियो । ठिक त्यही बेला उनको जीवनमा एक युवती आइन्, सुतपा ।

तर, त्यसभन्दा अगाडि उनले अर्को दुखको सामना गर्नुप¥यो । बुबाको मृत्यु भयो । घरको आयस्रोत सबै बन्द भयो । इरफानलाई घरबाट पैसा आउने बाटो बन्द भयो । यस्तै दुखदायी क्षणमा उनले अभिनय सिके । र, त्यसकै लागि निरन्तर डटिरहे । अन्तत टेलिशृंखला हुँदै उनी फिल्मी दुनियाँमा छिरे ।

इरफानले ‘सलाम बम्बे’ फिल्मबाट अभिनय यात्रा सुरु गरे । सन् १९६७ मा । त्यसपछि उनी निरन्तर फिल्मी क्षेत्रमै तल्लिन रहे । यसबीचमा इरफानले हसिल, लाइफ इन ए ..मेट्रो, पान सिंह तोमर, लन्च बक्स, जुरासिक वल्र्ड, लाइफ अफ पाई जस्ता हलिउड, बलिउड फिल्ममा अभिनय गरे ।

इरफानले बकरा ईदको विषयमा दिएको एक अभिव्यक्तीले विवादको रुप लिएको थियो । उनको अभिव्यक्तिलाई केही मुस्लिम संगठनले घोर विरोध जनाएका थिए । उनीहरुले भनेका थिए, ‘आफ्नो काममा ध्यान देउ, धार्मिक रीति रिवाजमाथि वयान दिनु आवश्यक छैन ।’ त्यसको जवाफमा इरफानले ट्वीट गर्दै भनेका थिए, ‘भगवान धन्यवाद, म धार्मिक ठेकेदारद्वारा सञ्चालित देशमा बसेको छैन ।’

क्रिकेटर बन्न चाहन्थे– इरफान खान त्यसताका अभिनेता बन्ने सोचमा पुगेकै थिएनन् । खासमा उनी क्रिकेटर बन्न चाहन्थे । तर, उनको भाग्यमा अर्कै लेखिएको रहेछ । उनी क्रिकेटर बनेनन्, अभिनेता बने ।

आफ्नो नाममा ‘आर’– इरफान खान अंग्रेजीमा आफ्नो नाममा दुई वटा आर राखे, आइआरआरएफएएन । अर्थात इरफान । कतिले भन्छन् कि, अंकज्योतिषको कारण इरफानले आफ्नो नाममा एक अर्को आर जोडेका हुन् । तर, इरफानलाई त्यसको साउन्ड राम्रो लागेकाले आर जोडिएको बताएका थिए ।

खान नामले हैरानी–इरफान खानले आफ्नो नामको पछाडि जोडिन आउने खानको कारण यदाकदा दुख झेलेका छन् । अमेरिकी विमानस्थलमा उनलाई कति पटक रोकेर सोधपुछ गरिएको थियो ।

ओस्कार विजेता फिल्ममा कामः–इरफानले ‘स्लमडग मिलियनेयर र लाइफ अफ पाई’ फिल्ममा काम गरे । यी दुबै फिल्मले केही विधामा ओस्कार अवार्ड जितेको थियो ।

इरफानको सम्पति– इरफानले एउटा फिल्ममा अभिनय गरे बापत भारु १२ देखि १४ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका थिए । उनको मुम्बईमा एक फ्ल्याट छ, जसमा उनी आफ्ना परिवारसँग बस्थे । त्यस फ्ल्याइटको मूल्य भारु करिब तीन करोड हो । इरफानसँग चारवटा गाडी थियो । उनीसँग करिब भारु ८० करोड बराबरको सम्पति भएको बताइन्छ ।

कमेन्ट गर्नुहोस्
Share: