
काठमाडौँ । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ५९ पुगेको छ । आज (शुक्रबार) बाँके र रुपन्देहीमा एक एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५९ पुगेको हो ।
बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकारी दिएका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा सङ्क्रमितमध्ये अहिलेसम्म १६ जना निको भइ घर फर्किसकेका छन् भने ४३ जना संक्रमितहरु उपचारमा रहेका छन् ।
यस्तै, अहिलेसम्म ४७ हजार ७९७ जनाको ‘आरडीटी’ र १२ हजार ५७७ जनाको ‘पीसीआर’ परीक्षण भएको पनि डा. देवकोटाले जानकारी दिए । उनका अनुसार देशभर २४ हजार ९०७ जना ‘क्वारेन्टाइन’मा र ९४ जना ‘आइसोलेसन’मा रहेका छन् ।
