
काठमाडौँ । आज विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ नारासहित यो दिवस मनाइँदैछ। सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो।
यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरसका कारण कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन÷प्रसारण गरी दिवस मनाउँदैछन्।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको थियो ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मी, प्रेस स्वतन्त्रता सेनानी एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूलाई सम्मान गर्दै यो दिवस विश्वभर मनाइन्छ।
