
काठमाडौँ । उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । काठमाडौँ , वीरगञ्ज र रौतहटका एक एक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँको सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषमा फेरि सङ्क्रमण पुष्टि भएको छ । यस्तै वीरगञ्जमा उपचारपछि निको भएका एकजनामा र भारतबाट फर्केका रौतहटका एक युवकमा पनि फेरि सङ्क्रमण भएको जनाइएको छ ।
नेपालमा हालसम्म ‘पीसीआर’बाट १३ हजार ८५० जनाको र ‘आरडीटी’बाट ५२ हजार २२७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । देशभर १२० जना ‘आइसोलेसन’कक्षमा रहेका छन् भने २१ हजार ९९ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने देशभर कोरोना संक्रमित ६६ जनाको उपचार भइरहेको जनाइएको छ ।
