
पोखरा । कोरोना भाईरसको महामारीका कारण समस्यामा परेका विभिन्न क्षेत्रका करिव १३५ जनालाई मंगलबार खाद्यान्न एवं अन्य सामाग्री राहात स्वरुप हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीको पहलमा पोखरा महानगरपालिका–५ निवासी ८५ वर्षिय वृद्धा चीजकुमारी गुरुङको सहयोगमा राहात सामाग्री हस्तान्तरण गरिएको हो।
पोखरामा कपाल काट्ने पेशामा आवद्द २५ जना नाईहरु, यातायात क्षेत्रमा संलग्न ५ जना मजदुरहरु र असहाय एवं असक्तहरु लाई आश्रय दिंदै आएको पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रय लिएर बसोबास गर्दै आएका १ सय जना भन्दा बढी गरि करिव १ सय ३० जनाका लागि खाधान्न एवं अन्य विभिन्न सामाग्री राहत स्वरुप हस्तान्तरण गरिएको हो । कारोना भाइरस (कोभिड–१९) को कारण पोखराको विभिन्न स्थानमा कपाल काट्ने पेशामा संलग्न मजदुर तथा स्वरोजगार श्रमिकहरुको पसल बन्द भएपछि आफ्नो र परिवारको लागि दैनिक जीवनयापन गर्न समेत नसक्ने अवस्थामा पुगेका २६ परिवार र यातायात क्षेत्रका ५ जना मजदुरका परिवारका लागि चामल, दाल नुन, चिउरा साबुन लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
यसै गरि पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममा रहेका १ सय भन्दा बढी असहाय र असक्त हरुको लागि खाधान्न, खाजा, सरसफाईको सामाग्रीहरु पनि हस्तान्तरण गरिएको छ । नाई संघ सम्बद्ध श्रमिकहरुको लागि नेपाल नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर तथा मानव सेवा आश्रममा आश्रमका अभिभावक शोभा गौतमको संयोजनमा ति सामाग्री वितरण गरिएको थियो । मजदुरहरुका लागि राहात सामाग्रीको वितरण कार्यक्रममा सहयोगदाता चिज कुमारी गुरुङका छोरा प्रकाश गुरुङ र छोरी तिल कुमारी गुरुङ स्वयं सहभागी थिए । प्रकाश गुरुङ बेलायती सेनाका पूर्व सैनिक तथा ब्रिटिश गोर्खा वेयलफेयर सोसाईटी तथा पञ्चासे हर्पन डाँडा समाज युकेको महासचिव हुन् । उनी लकडाउनका कारण बेलायत फर्किन नपाएकोले हाल नेपालमा नै रोकिएका छन् ।
मजदुर तथा श्रमिकहरुका लागि पोखरा महानगरपालिका–३ को वडा कार्यालयमा वडाध्यक्ष रविन्द्र बहादुर प्रजूको रोहवरमा वरिष्ठ पत्रकार गंगाधर पराजुली, नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुर, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सचिव रुद्र तिमिल्सीना, नेपाल प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष शिरोमणि बराल, अभियन्ताहरु शान्ती गुरुङ र अम्बिका ढुंगाना लगायतले राहात सामग्री वितरण गरेका थिए ।
यसैगरि मानव सेवा आश्रममा आयोजित कार्यक्रममा सहयोगदाता परिवारका प्रकाश गुरुङ, वरिष्ठ पत्रकार गंगाधर पराजुली, शिरोमणी बराल, आश्रमका सदस्य तथा अभिभावक शोभा गौतम र स्वयं सेवक सम्झना गर्तौला लगायतले आआफ्नो भनाई राखेका थिए । त्यस अवसरमा बोल्दै गुरुङले आफ्नो आमाको ईच्छा अनुसार आमाले प्राप्त गरेको पेन्सन रकमबाट राहात सामाग्री खरिद गरिएको जानकारी दिए । पत्रकार पराजुलीले सहयोगदाताको चाहाना र समस्यामा परेका मजदुर र असहायका लागि उनिहरुकै आवश्यकता अनुसार सामान वितरण गरिएको जानकारी दिए ।
