
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोनाकै कारण भएको पुष्टी गरेको छ।
धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि स्वाब पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ निवासी २९ वर्षीया सावित्री तिम्सिना महिला २४ गते सुत्केरी भएकी थिइन् । २५ गते अस्पतालबाट ‘डिस्चार्ज’ भएर सिधुपाल्चोक घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
स्वास्थ्यमा जटिल समस्या भएपश्चात् धुलिखेल अस्पताल भर्ना भएकी उनको गएको बिहीबार मृत्यु भएको थियो ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । धनुषा निवासी २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
यो सँगै नेपालमा अहिले सम्म संक्रमितको संख्या पनि २८१ पुगेको छ। जसमा अहिलेसम्म उपचारपछि निको भई घर फर्किनेको संख्या ३६ रहेको छ।

