सञ्जिवनी दिदीबहिनी केन्द्रद्वारा मजदुर, अपाङ्ग तथा बहिरा संघका केहि व्यक्तिलाई राहत वितरण

Share:

पोखरा । सञ्जिवनी दिदीबहिनी केन्द्रको आयोजनमा आइतबार निःशुल्क भोजन, खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कोरोना भाईरसका कारण प्रत्यक्ष रुपमा विभिन्न वर्गका मजदुर, अपाङ्ग तथा बहिरा संघका व्यक्तिलाई पर्न गएको असरलाई मध्यनजर गर्दै सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालले राहत बितरण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यको लागि यूकेबाट श्रीमती अन्तिम गुरुङ्गको संयोजकत्वमा संकलित रकम रु. ९४ हजार ७ सय २० रुपैया र सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको नाममा जम्मा भएको सहयोग रकम रु २६ हजार गरी करिब रु. १ लाख २१ हजार रकम बराबरको राहत वितरण गरिएको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण जिविकोपार्जनमा समस्या परेका अपाङ्गता तथा एकल महिला ३० जना, अस्वस्थ तथा बहिरा २० जना र मजदुर परिवार १६ गरी जम्मा ६६ जनालाई राहत स्वरुप उक्त सामाग्री बितरण गरिएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालकी अध्यक्ष बिना गुरुङ्गले जानकारी दिइन् ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको समन्वय, मिलन थापाको संयोजन तथा प्रहरी प्रशासन असई याम प्रसाद गौतमको उपस्थिति रहेको थियो । साथै पोखराको श्री राम आधारभुत विद्यालयमा एक हप्ता देखि समस्याग्रस्त परिवारलाई नि शुल्क खाना खुलाउने व्यवस्था भएकोले उक्त संस्थालाई ७५ के.जि. चामल प्रदान गरिएको छ । सोही कार्यक्रममा महिला सिप बिकास तालिम केन्द्रकी संञ्चालिका रामकलि खड्काले उपस्थित सबैजनालाई आफ्नै संस्थाले तयार गरेको एक एक वटा मास्क वितरण गर्दै आउँदा दिन हरुमा आफ्नो केन्द्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: