
पोखरा । तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपाल ३५ वर्ष पुरा गरी आज जेठ ५ गते ३६ औं वर्ष प्रवेश गरेको छ । कोभिड १९ कोरोना भाइरसको लकडाउनका कारण गर्विलो संस्था तमु धिं नेपालले आफ्नो स्थापना दिनमा समाजका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान, पुरस्कार वितरण र विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम स्थगित गरेको छ।
गर्विलो संस्था तमु धिं नेपालले संस्था स्थापना दिवसमा विगतदेखि वितरण गरिदै आएको डा.हर्क चन्द्र सन्त उच्च शिक्षा सम्मान, आदिकवि हर्कबहादुर गुरुङ स्मृति समाजसेवा सम्मान र साहित्य सम्मान, कर्णेल तिर्थकुमारी समाज सेवा सम्मान, स्व.घनबहादुर लामिछाने स्मृति पुरस्कार,सुनिल स्मृति छात्रवृत्ति, आकृति स्मृति छात्रवृत्ति, तमु धिं नेपाल छात्रवृत्ति, सन्तबहादुर गुरुङ स्मृति समाजसेवा सम्मान पुरस्कार वितरण कोरोना भाईरसको महामारीका कारण हाललाई स्थगित गरी मुलुकमा सहज अवस्था पश्चात विशेष कार्यक्रममा वितरण गरिने भएको छ। उक्त सम्मान, पुरस्कार, छात्रवृत्तिबाट १२ जना सम्मानित गरिदै आएको थियो।
संस्था स्थापना दिवसमा गरिने सम्मानहरु स्थगित गरे पनि तमु धिंले सामाजिक दुरी कायम राख्दै कोरोना महामारी अन्त्यको कामना गर्दै ३६ वटा शान्ति दिप प्रज्वलनसहितको छोटो कार्यक्रम गर्ने भएको छ।
तमुहरुको एकता, मौलिकता संरक्षण, दुख सुखमा साथ दिने सुरुवाती उद्धेश्यका साथ पञ्चायती धरपकड बिच स्थापित तमु धिं नेपालको संस्थापक कार्यसमितिको अध्यक्षमा कर्म तमु, उपाध्यक्ष शंकर तमु, सचि शेरबहादुर तमु, सहसचिव श्यामकाजी तमु, कोषाध्यक्ष झमटबहादुर तमु, सदस्यहरु कमलबहादुर तमु, खडगसिंह तमु, रोस तमु, तिलक तमु, गजबहादुर तमु, हरिबहादुर तमु,शिला तमु, अर्जुन तमु, मोहन तमु रहेका छन् ।
पोखरा ९, नयाँबजारमा करिब ६ रोपनी जग्गासहित तमुहरुको मौलिक घर तमु साँस्कृतिक भवन, कार्यालय, सभाहल लगायत भोज, पार्टीका लागि पनि तमु धिं सामाजिक भवनको रुपमा परिचित छ। समुदायका साथ, नेपालीको सुखदुख र मुलुकको विपत्तिमा सधै अघि बढ्दै सभ्य समाज र समृद्ध नेपालको अभियानमा सधैसँगै अभियानमा जुटिरहेको छ।
