
काठमाडौँ। नेपालमा बिहीबार एकैदिन २६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापा ८ र रुपन्देहीमा १ जना गरी बिहीबार दिउँसो थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि बिहीबार बिहान मात्र झापा, धनकुटा र सुनसरीका गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थपिएका संक्रमित मध्य झापा कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका ८ जना पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुष रहेका मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ । संक्रमितमध्ये ४९ जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भइसकेको छ।
यस्तै नेपालका ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ। जसअनुसार प्रदेश नम्बर १ मा ८४ जना, प्रदेश नम्बर २ मा १ सय ३६ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश नम्बर ५ मा १ सय ९७ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।
