‘नाम्लो’ मा अडिएको प्राण, वाह ! नेत्रको निर्देशन प्रकाशको प्रतिभा (भिडियो)

Share:

गत जेठ ११ गते । काठमाण्डौको किर्तिपुरमा सडक पेटीमै मृत भेटिए धादिङका सूर्यबहादुर तामाङ । बुढ्यौली उमेर, कोहि थिएन उनको, सिर्फ ‘नाम्लो’ । सूर्यबहादुर वर्षौंदेखि कीर्तिपुरमा भरियाको काम गर्थे। दुई महिनाअघि लकडाउन भएपछि उनले काम पाएनन्। शुक्रबारसम्म संस्थाहरूले बाँडेको खाना खान्थे। आइतबार प्राण उडिसकेको थियो । शरीरलाई प्राणले छोड्दा पनि उनलाई छाडेन ‘नाम्लो’ ले । मुर्दा शरीरको हातमै थियो ‘नाम्लो’ ।

ठ्याक्कै यस्तै हृदयविदारक परिवेश । कथाका रुपमा पहिल्यै तयार थियो । पोखराका फिल्मकर्मी नेत्र गुरुङको टीमले ‘नाम्लो’ तयार पारिसकेका थिए । सार्वजनिक हुनुअघि नै फिल्मीकथा सूर्यबहादुरको जीवनकथा बन्यो । त्यसैले विहीबार सार्वजनिक नेत्रको ‘नाम्लो’ ले वास्तविकता बोलेको प्रमाणित हुन्छ ।

सूर्यबहादुरझैं फिल्ममा मूख्य पात्र छन्, दानबहादुर । सिन्धुपाल्चोक सिपापोखरी २ बासीका रुपमा उनलाई चित्रित गरिएको छ । कथा भूकम्पबाट सुरु हुन्छ । सिन्धुपाल्चोक भूकम्पले प्रभावित पारेकोमध्ये एक जिल्ला हो । नाम्लो बोकेर घरबाहिर निस्कँदा बचेको ज्यानले फिल्ममा आफ्नो जिवनकथा बोलिरहेको छ । अग्रज कलाकार प्रकाश घिमिरेको जिवन्त अभिनयले सुरुदेखि अन्तिमसम्म कहिँकतै पट्यार लाग्दैन ।

भूकम्पमा सबै परिवार एकै चिहान बन्थ्यो तर उनको मात्र ज्यान बचाउने त्यही नाम्लो । गाउँ छाडे तर नाम्लोले छाडेन, शहर झरे । सडकको बास हुँदा मकै पोलेर बेच्ने मंगलीसँग दुःख साटे । उनी पनि पहिरोबाट पीडित नै थिईन् । दुःखी दुःखीको मायापिरिम बस्यो, बिहे भयो, बच्चा भयो । नाम्लोको साथले परिवार एकसाथ दुःखसुख जिवन कटाइरहेका थिए ।

अब अहिलेको समसामयिक विषयवस्तुलाई कथाले बोक्यो । लकडाउनले मजदुरलाई परेको मर्का र व्यथा, घरभेटीको किचकिचले दानबहादुर दिक्क छन् । उनले बोलेका केही वाक्यहरुले मुटु नै बिझ्ने गरी घोच्छ । दानबहादुर भन्छन्ः ‘भोको पेटलाई नाम्लोले बानेर बसौंला । गरीबलाई रोगले भन्दा भोकले पो मार्ला जस्तो छ । बालबच्चा फकाउँदा फकाउँदा गाउँखाने कथा नै सकिसक्यो । हिजोसम्म मजदुर, आज मजबुर छु । जिन्दगीभर साथ दिने यही नाम्लो अब अन्तिममा पनि पासो नै नाम्लो….’

कलाकार घिमिरेले यति बोल्दा दर्शकले प्रकाश घिमिरे बिर्सन्छन्, दानबहादुरमै आफूलाई समाहित गर्छन् । आँखा अनयाशै रसाउँछ । भोकले मर्न लागेको एउटा गरीबमा राष्ट्रियता मरेको हुन्न, सीमानाका कुरा पनि उनलाई थाहा छ ।

यसरी ९ मिनेटको भिडियोमा नाम्लेको कथा पूरै समेटिन्छ । नाम्ले झैं आज कति नेपाली मरिच चाउरिएको झैं पेट लिएर नाम्लो कसेर बसेका होलान् ? केही घण्टामै जतिले हेरे उनीहरुले अत्यन्तै राम्रो प्रतिक्रिया दिँदा नेत्र फुर्किएका छन् । पोखरामै रहेर नेत्रले कलाकारितामा ठूलो योगदान दिइरहेका छन् । लकडाउनमा समेत उनको एकपछि अर्को भिडियो आइरहेको छ । आफ्नै च्यानल Netra Entertainment Pvt. Ltd. सुरु गरेर नयाँ च्यानलमै सार्वजनिक गर्ने आँट गरेका छन् । हेर्नेले हेरिदिएका छन् ।

सर्ट फिल्म ‘नाम्लो’ को स्क्रिप्ट, इडिटर, डिरेक्शन नेत्र स्वयंको हो । फिल्ममा विजयराज अधिकारीले अन्तर्वार्ताकारको भूमिका निभाएका छन् । डाइरेक्टर अफ फोटोग्राफी प्रकाश गुरुङ काशको रहेको छ । ड्रोन मिलन थापा, कलरिस्ट किरणराज थापा, पब्लिसिटी डिजाइनर सबिन गायक, प्रडक्शन म्यानेजर विजयराज अधिकारी लाइभ साउण्ड रेकर्ड रोहन नेपाली, एसिस्टेन्ट डिरेक्शन भरत छन्त्याल, पोष्ट प्रडक्शन नेत्र इन्टरटेनमेन्ट रहेको छ ।

लकडाउनकै कथावस्तुमा यसअघि उनले सर्ट फिल्म घर सार्वजनिक गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: