
कास्की । नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर १ ईकाईले वडामा राहत वितरण गरेको छ ।
नोबल कोरोना भाइरस (कोभिड१९) का कारण समस्यामा परेका माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर १ का स्थानिय २ सय ५६ परिवारलाई खाद्यान्न बितरण गरेको हो । राहत वितरणको संयोजन नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर १ ईकाई सभापती भिम बहादुर गुरुङले गरेका थिए । लकडाउनले गर्दा काम गर्न नपाएको अवस्थामा जनता भोको रहने अवस्था आएपछी नेपाली कांग्रेस प्रति आस्था राख्ने व्याक्तिहरुसँग मिलेर राहत उपलब्ध गराएको उनले बताए ।
सरकारले यो भन्दा अगाडी एकपटक वडामा राहत बाडेको भएपनि लकडाउन लम्बिदै जादा त्यो प्रयाप्त नभएकोले नेपाली कांग्रेसले जनताको दुःख देख्न नसकेर फेरी राहत वितरण गरेको उनले बताए । राहतको प्याकेजमा एक बोरा चामल, एक किलो नुन, आधा लिटरको एक प्याकेट तेल र एउटा साबुन रहेको उनले जानकारी दिए ।
संघिय सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रीत सदस्य सुर्यबहादुर के.सीको विषेश सहयोगमा राहत वितरण गरिएको राहत संकलन अभियानकर्ता तथा नेपाली कांग्रेसका आमन्त्रीत जिल्ला सदस्य मेस बहादुर गुरुङले जानकारी दिए । यसैगरि घाचोक घर भई हाल हङकङ, निवासी विष्णु गुरुङ, अमेरिक निवासी पान बहादुर तामाङ लगाएत वडामा रहनुभएका नेपाली कांग्रेस प्रति आस्था राख्नेहरुको राहत संकलनमा सहयोग रहेको उनले बताए ।
नेपाली कांग्रेसले राहत वितरण गरेपनि आफुहरुले सबैलाई समेटेको अर्का राहत संकलन अभियानकर्ता तथा नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर २ ईकाई सभापती गुञ्जमान गुरुङले बताए । “राहत नेपाली कांग्रेसले बाडेको भएपनि हामीले यो पार्टी त्यो पार्टी भनेर छुट्याएका छैनौ” उहाँले भन्नुभयो “यो संकटको समयमा पनि यो पार्टी त्यो पार्टी भनियो भने मानवियता नै रहदैन ।” राहत बितरणमा कोही पनि नछुटोस भनेर वडा कार्यालयबाट पहिले राहत लिनेको लिस्ट मगाएर समन्वयन गरिएको उनले बताए । लकडाउन थपिदै जादा समस्यामा परेकाहरुको पनि खोजी गरेर राहत उपलब्ध गराईएको गुरुङको भनाई छ ।
लकडाउनको समयमा ग्रामिण भेगका महिलाहरु बढी मारमा परेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ महिला संघकी सचिव टेकनशोभा गुरुङले बताइन् । ग्रामिण भेगमा पुरुष भन्दा बढी महिलाहरु चुल्हाचौकामा रहने कारणले बिहान बेलुका के पकाउने भन्ने समस्यामा रहेको उनले बताइन् । चुल्होमा आगो कसरी बाल्ने भन्ने समस्यामा परेका महिलाहरुको लागि राहतले आहत मिलेको उनले जानकारी दिइन् ।
माछापुच्छ«े गाँउपालिका, वडा नम्बर १ भौगोलिक रुपमा टाढा टाढा भएको कारण राहत वितरण गर्न दुई दिन लागेको उनले बताए । वडा नम्बर १ को टुसेमा आईतबार राहत वितरण गरेको ईकाइले सोमबार रुम्जा, चैरेपाखा, धिप्राङ, मिर्सा, करुवा, कवजे, साँदल लगाएत गाँउमा राहत वितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ महिला संघकी सचिव टेकनशोभा गुरुङले जानकारी दिइन् ।
राहत वितरणको समयमा संगै रहनुभएकी सहयोगी विष्णु गुरुङले यो समयमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताइन् । आफु हङ्गकङ्गमा हुँदा देशमा संकट आईपर्दा निकै दुःख लाग्ने गरेको बताउँदै यो पटकको संकटमा गाँउमा नै रहेर सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिलेको उनले बताइन् । “हुन त म पनि साह्रै नै धनी त होईन, तर पनि आफु भन्दा कमजोर आर्थिक अवस्था भएकालाई केही सहयोग गर्न पाउदा मनमा फरक अनुभती भएको छ” उनले भनिन् ।
