
पोखरा, २० जेष्ठ । गण्डकी प्रदेशमा १० जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् । स्याङ्जा जिल्लामा थप ५ जना र पर्वत जिल्लामा पहिलो पटक ५ जना नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएअनुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० बर्षीय ४ जना पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी पर्वतको फलेबास नगरपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० र ४० बर्षीय २ जना पुरुष तथा सोहि क्वारेन्टाइनमा रहेका महाशिला गाउँपालिकाका १९, २० र २१ का ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।
यस्तै, पर्वतमा कोरोना संक्रमित भेटिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा बागलुङका ८ जना, स्याङ्जाका १२ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ९ जना, लमजुङका १ जना, म्याग्दीका १ जना, तनहुँका १ जना र पर्वतका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन् ।

