
पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा बिहीबार बिहान बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बागलुङ निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ का २ पुरुष तथा ३३ बर्षीया एक महिला, वडीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १६, २०, २१ र २५ का ४ पुरुष र गल्कोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका २०, २२ र २३ बर्षका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यस्तै स्याङ्जा कालीगण्डकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ बर्षका एक पुरुष, म्याग्दी मंगला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षका १ जना पुरुष, पर्वत कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बिहादी गाउँपालिकाका २४ र २८ का २ जना पुरुष र फलेबास नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ र २१ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जनाइएको छ ।
संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।
अहिलेसम्म गण्डकी प्रदेशमा बागलुङका १८ जना, स्याङ्जाका १३ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १० जना, लमजुङका १ जना, म्याग्दीका २ जना, तनहुँका १ जना र पर्वतका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना संक्रमणमुक्त भई घर फर्किसकेका छन् ।

