
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यहरुका लागि १ लाख रुपैंयाको कोरोना बिमामा ५० प्रतिशत सहयोग गर्ने भएको छ । संस्थाको आइतबार सम्पन्न सञ्चालक समितिको वैठकले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुको कोरोना बिमामा ५० प्रतिशत सहयोग गर्ने निर्णय गरेको हो ।
संस्थागत रुपमा एक जना शेयर सदस्यको १ लाख रुपैंयाको बिमाका लागि ६ सय रुपैंया लाग्दछ । त्यस मध्ये सदस्यले ३ सय रुपैंया भुक्तान गरी कोरोना बिमा गर्न चाहेमा संस्थाले विमित रकमको ५० प्रतिशत अर्थात ३ सय रुपैंया सहयोग गरी बिमा गरिदिने निर्णय गरेको हो ।
संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीको यस अगाडि नै निःशुल्क विमा गरेको संस्थाले दोस्रो चरणमा शेयर सदस्यहरुको कोरोना विमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु) ले जानकारी दिइन् ।
कोरोना बिमा गर्न चाहने सदस्यहरुले ३ सय रुपैंया सहित संस्थामा सम्पर्क गर्न आएमा थप रकम सहित संस्थाले विमा गरिदिने अध्यक्ष जिसीले जानकारी दिए । आदर्श सञ्चार सहकारी संस्थामा हाल १ हजार ८ सय जना शेयर सदस्य रहेका छन् ।
वैठकले कोरोनाको संक्रमण र सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसायमा परेको असहज परिस्थितिलाई मध्यनजर गरी संस्थाबाट गरिएको कर्जा लगानी मध्ये कोरोना अवधीको ब्याजमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ । संस्थाका सदस्यहरुलाई थोरै भए पनि राहत हुने गरी ब्याजमा १५ प्रतिशत छुटको व्यवस्था र कोरोना अवधीको हर्जाना मिनाहा गरिएको संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्काले जानकारी दिए ।
यसैबीच संस्थाले आगामी वर्षको योजनामा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कोरोना लगायत शेयर सदस्य र आम समुदायको स्वास्थ्य सम्बन्धी सचेतना, उपचार लगायतका कार्यक्रम बनाएर अगाडि बढ्ने संस्थाले निर्णय गरेको संस्थाका सचिव ललिता थापाले जानकारी दिइन् ।
संस्थाले सञ्चालन गर्दै आएको बचत तथा ऋण कार्यक्रम अन्तरगत आगामी वर्षमा जम्मा लगानीको २५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्ने गरी योजना निर्माण गर्न सञ्चालक समितिले व्यवस्थापनलाई जिम्मेवारी दिएको छ ।
सञ्चालक समितिले जम्मा लगानीको २५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्ने गरी योजना निर्माणका लागि व्यवस्थापनलाई जिम्मेवारी दिएको छ, संस्थाका प्रवन्धक दीपकराज सापकोटाले भने, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिमा विशेष लगानी गर्ने कार्यविधि बनाएर अगाडि बढ्छौ । प्रवन्धक सापकोटाले कृषि क्षेत्रमा गरिने लगानीमा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई विशेष प्राथमिकता दिने जानकारी समेत दिए ।
बागलुङ जिल्लाभर कार्यक्षेत्र रहेको आदर्श सञ्चार सहकारीले आगामी वर्षको कार्यक्रममा स्वास्थ्य र कृषि पछि पर्यटनलाई प्राथमिकता दिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र प्रदेश सरकारसंग समन्वय गरी घरबास कार्यक्रमलाई प्रभावकारी बनाउने योजनाका साथ कार्यक्रम तय गर्न लागिएको संस्थाले जनाएको छ ।
साना तथा मझौला उद्योगसँगै स्थानीय उत्पादनको संकलन र बजारीकरणका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने संस्थाले निर्णय गरेको छ ।
सूचना र सञ्चारसँगै वित्तीय तथा सामाजिक क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीको कुल पूँजी ३० करोड रहेको छ ।
