
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ सय ४७ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार गैंडाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका २३ र २६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ३८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३७ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ३ जना, पर्वतका ९ जना, गोरखाका ११ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ पुगेको छ । आज स्याङ्जाका ३ जना पुरुष कोरोना संक्रमणमुक्त भइ घर फर्किए सँगै प्रदेशमा निको हुनेको संख्या ५ पुगेको हो ।
कोरोना संक्रमण पुष्टी भई स्याङ्जा जिल्ला अस्पतालको आइसोलेशन कक्षमा उपचाररत वालिङ नगरपालिका वर्ष २१ का १ जना पुरुष र गल्याङ नगरपालिका २७ र ४० वर्षका २ जना पुरुषहरु अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । वालिङका युवक जेठ १५ देखि र गल्याङका २ जना जेठ १८ गतेबाट अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए ।
उनीहरुको स्वाव संकलन गरि दोस्रो पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले आज अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ ।
गण्डकी प्रदेशमा कोरोनाका कारण १ जनाको भने मृत्यु भएको छ । गएको आइतबार राति स्याङ्जाको वालिङका ६० बर्षीय पुरुषको मृत्यु भएको हो ।
