गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना पुष्टि, मनाङ जिल्लामा पनि संक्रमित भेटियो

Share:

पोखरा । गण्डकी प्रदेशका थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा बिहीबार प्रकाशित तथ्यांक अनुसार ४ जिल्लामा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो।

बिहीबार मनाङ जिल्लाका १ जना, तनहुँका १२ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ जना, गोरखाका ११ जनामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमण देखिनेमा मनाङका ५७ वर्षीय १ पुरुष, तनहुँको ऋसिङ गाउँपालिका २० देखि ४० बर्ष समुहका ७ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ बर्षीय पुरुष र भानु नगरपालिकाका २२ देखि ५२ वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

यसैगरी गोरखाको पालुङटार नगरपालिकाका २३ देखि ४६ बर्ष समुहका ६ जना पुरुष तथा १ महिला, शहिद लखन गाउँपालिकाका २७ देखि ५४ बर्ष उमेर समुहका ४ जना पुरुष  र नवलपरासी बर्दघाट सुस्ता पूर्व मध्यबिन्दु नगरपालिकाका १७ देखि ४५ बर्ष समुहका १५ पुरुष, गैडाकोट नगरपालिकाका २८ बर्षीय पुरुष र २ उमेर नखुलेका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मनाङको एक जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएका सूचनामा उल्लेख छ। संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन्। उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले उल्लेख गरेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म तनहुँका २३ जना, बागलुङमा ४० जना, स्याङ्जाका ६४ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८४ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, पर्वतका २९ जना, गोरखाका ३६ जना र कास्कीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको मनाङमा बिहीबारपहिलोपटक संक्रमित फेला परेका हुन् । यो सँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ ।

संक्रमित मध्ये २२ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाले मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: