
पोखरा । पातन्जल योग समिति, गण्डकी प्रदेश समिति, जिल्ला समिति कास्की र पोखरा नगर समितिले पोखरामा संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा गरिने वार्षिक कार्ययोजना अनुसार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४१ युनिट रक्त संकलन भएको छ ।
पहिलो रक्तदाता रामबहादुर सुनारलाई पातन्जल योग समिती नेपालका केन्द्रिय सदस्य प्रदिप कुमार श्रेष्ठले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
प्रदेश सदस्य सपना गुरुङको संयोजकत्वमा आयोजना गरिएको रक्तदान कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार पोखराका अर्जुन ज्ञवाली, शान्तिदीप अभियानद्वारा सञ्चालित आकस्मि रक्तदान अभियानका व्यवस्थापक हरिशचन्द्र शर्मा, अन्नपूर्ण बाल आत्मनिर्भर आश्रमकी संस्थापक शारदा बस्नेत, गण्डकी प्रदेश समिति अध्यक्ष कमला गुरुङ, जिल्ला समितिका अध्यक्ष सुरेश श्रेष्ठ, पोखरा नगर समितिका अध्यक्ष जिवनाथ बस्ताकोटी, सल्लाहकार रमा श्रेष्ठ, ४१ औं पटक रक्तदान गर्ने योग प्रशिक्षक गंगाराज सुवेदी लगायतले बोलेका थिए ।
यो महामारीको समयमा रगतको अभाव भइरहेको सन्दर्भमा कठिन परिस्थितिमा पनि यति धेरै संख्यामा रक्तदाताहरु सहभागी भएकोमा आयोजकले धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रममा स्वागत मञ्जुश्री थापा र सञ्चालन गण्डकी प्रदेश समिति महासचिव रश्मी अधिकारी भण्डारीले गरेकी थिइन् ।


