
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ सय नाघेको छ । शनिबार बेलुकी थप ५० जना र आइतबार बिहान थप १६ जना कोरोना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ ।
शनिबार बेलुकी मुस्ताङको घरपजोङ गाउँपालिकाका एक ८३ बर्षीय बृद्ध सहित बागलुङका ५ वटा पालिकाका २६ जना पुरुष तथा ३ महिला, तनहुँका २७ बर्षीय पुरुष तथा ४० बर्षीय महिला, र नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ७ बर्षीय बालक देखि ३९ वर्ष उमेर समुहका १६ जना पुरुष तथा २ महिलामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आइबार बिहान बागलुङका ४ वटा पालिकाका २१ देखि ४८ बर्ष उमेर समुहका २६ जना पुरुष, तनहुँका २९ बर्षीय पुरुष , म्याग्दी ९ बर्षीय बालिकासहित २० र ३३ बर्षीय पुरुष तथा ३० बर्षीया महिला र पर्वतका २७ र ३२ वर्षका २ जना पुरुष रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेशमा हालसम्म सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्ता पूर्वका १३३ जना, त्यसपछि क्रमशः बागलुङका ११२ जना, स्याङ्जाका ७६ जना, तनहुँका ७१ जना, पर्वतका ४५ जना, गोरखाका ४१ जना, कास्कीका १५ जना, म्याग्दीका ८ जना, लमजुङ, मनाङ र मुस्ताङका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार मुस्ताङमा एक जनामा संक्रमण पुष्टी भएसँगै प्रदेशका सबै (११ वटै) जिल्लामा संक्रमण देखिएको छ ।
प्रदेशका ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाकोे मृत्यु भएको छ ।


