
पोखरा। आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले बताए । यो अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण भएको बताइएको छ ।
ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुको प्रमाण छ । सूर्य ग्रहणमा ४ प्रहर ( १२ घण्टा) र चन्द्र्रग्रहणको समयमा ३ प्रहर (९ घण्टा) अगाडि नै सूतक लाग्ने गर्दछ । यसकारण ७ गते लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक समय ६ गते राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले ६ गते राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।
नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । यस ग्रहणलाइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भूटान, चीन, म्यान्मार, अफगानिस्तान, अफ्रिका, अष्ट्रेलिया, अमेरिकाका केही भूभाग, अन्टार्टिका साउदी अरब, कङ्गो, इथोपिया लगायत युरोप, एशिया महाद्विपका विभिन्न देशहरुबाट समेत देख्न सकिन्छ ।
ग्रहण सधैं चन्द्रमामा र सूर्यमा मात्र लाग्छ । ग्रहण लागेको समयमा चन्द्र र सूर्य कमजोर हुन्छन् । ज्योतिष शास्त्रमा सूर्य आत्मा र चन्द्रमा मनसँग सम्वन्ध राख्ने कुरा बर्णन गरेको पाइन्छ । तसर्थ यो समयमा आत्मविश्वास प्रदान गर्ने ग्रहहरु कमजोर हुँदा काममा बाधा पुग्छ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।
ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ ।
कुन राशिलाई कस्तो फल ?
सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्नुहुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ ।
सूर्यग्रहण कहाँबाट हेर्न सकिन्छ ?
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ ।
