
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि सामुहिक प्रयासको आवश्यकता भएकोमा जोड दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच रोटरी क्लव अफ पोखराद्धारा उपलव्ध गराएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उनले यस महामारिका विरुद्धमा आम सर्वसाधारण पनि सचेत हुनु पर्ने आवश्यकता औल्याए ।
विश्वव्यापी रुपमानै कोरोनाले पारेको असर न्यूनिकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नोतर्फबाट लाग्नु पर्नेमा जोड दिंदै उनले यस विरुद्धको लडाइमा सामुहिक सचेतता आवश्यक भएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङलाई रोटरी क्लव अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनल मार्फत उपलव्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हुन् ।
सो अवसरमा रोटरी क्लव अफ डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लवले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामाग्री र राहत उपलव्ध गराई सकेको जानकारी दिए ।
रोटरी क्लव अफ इन्टरनेशनले असारको दोश्रो हप्ता भित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परिक्षण मेरिन उपलव्ध गराउने तयारी भई रहेको उनले बताए । कार्यक्रममा रोटरी क्लव अफ पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

