
पोखरा । पोखरामा थप एकजना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै जनाएअनुसार पश्चिमान्चल क्षेत्रीय अस्पतालमा उपचाररतद स्याङजा सिरुवारीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
असार ८ गते अस्पतालको आइसीयुमा भर्ना भएका ती पुरुषको गएराति ११.३५ बजे निधन भएको हो। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ का समेत बिरामी रहेको जनाइएको छ ।
यस सँगै पोखरामा उपचारको क्रममा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या २ पुगेको छ । यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षीय व्यक्तिको गत जेठ २६ गते मृत्यु भएको थियो ।
यस घटना सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको भने संख्या २५ पुगेको छ ।
गण्डकीमा फेरी ११ जना संक्रमित थपिए
यसैबीच गण्डकी प्रदेशमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ४ जिल्लाका ९ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहीबार विहान म्याग्दीका २ पालिकाका ५ जना पुरुष र १ महिला, स्याङ्गजाका कालिगण्डकी गाउँपालिकाका १ पुरुष , बागलुङको गल्कोट नगरपालिकाका २ पुरुष र नवलपुर मध्यबिन्दु नगरपालिकाका १ र१ जना महिला पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेकोे छ ।


