
काठमाडौँ । आज बस्ने भनिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै आजका लागि तय भएको बैठक असार २४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका हुन्।
नेकपा स्थायी कमिटीको बैठक यसअघि पनि पटक पटक स्थगित भएको छ। शनिबारका लागि बोलाइएको बैठक सोमबार (आज) सम्मका लागि स्थगित भएको थियो।
यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी बिहीबारको स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।
