
पोखरा । पोखरामा मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई प्रहरीले कारवाही गरेको छ ।
बुधबार मास्क नलगाई हिड्ने र सम्झाउदा बुझाउदा अटेर गर्ने २१ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
कोभिड–१९ को संक्रमण जोखिम बढ्दै गएको अवस्थामा नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पुर्ण रुपमा लकडाउनको पालना गर्ने जस्ता नेपाल सरकारको निर्देशनलाई अटेर गर्दै सम्झाइ बुझाई गर्दा समेत नमान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता हमालले बताए ।
नियन्त्रणमा लिएका उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय कास्की पठाई जनही रु एक सय जरिवाना गरी छाडिएको उनले बताए । साथै भोलिबाट मास्क नलगाई हिड्ने सबैलाई कारवाही गरीने उनले बताए ।
यस्तै अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, न्युनतम सामाजिक दुरी कायम गर्ने र अनावश्यक जमघट नगर्न समेत कास्की प्रहरीले आग्रह गरेको छ । नेपाल सरकारको उक्त निर्देशन नमाने संक्रामक रोग ऐन,२०२० अनुसार कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।
