
पोखरा । गण्डकी प्रदेशसहित चार वटा प्रदेशमा आज देखि चार दिनसम्म यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज देखि २८ गतेसम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको हो ।
सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
मौसमविद्का अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ । त्यसैले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पुर्याउनसक्ने भएकाले थप जोखिम बढेको बताइएको छ ।
