
काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोबाट २२ जना बेपत्ता भएका छन् । कम्तिमा ३२ घर बगेका छन् । अहिलेसम्म २ जनाको शव भेटिएको छ । अरु ५ जना घाइते भएका छन् ।
त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी ११ वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका छन् । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
यता निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएको जनाइएको छ । आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ ।
