मृगौला पिडित रुपा गुरुङलाई याङजाकोट परिवार युके र अन्य संस्थाबाट गरि ५ लाख ७६ हजार सहयोग

Share:

पोखरा । याङजाकोट परिवार युके तथा विभिन्न व्यक्ति एवम् संस्थाले मृगौला पिडित रुपा गुरुङलाई ५ लाख ७६ हजार ७ सय ७० रुपैंया आर्थिक सहयोग गरेको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङजाकोट गैरीगाउँ निवासी रुपा गुरुङ विगत ४ वर्षदेखि मृगौला रोगबाट पिडित छिन् । घरको आर्थिक अवस्था कमजोर भएपछि रुपालाई यसअघि पनि विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त भएको सहयोगबाट नियमित रुपमा मृगौलाको डायलोसिस गर्दै आएकी छन् ।

याङजाकोट जन्मघर भई हाल बेलायतको विभिन्न स्थानमा बसोबास गर्दै आएका याङजाकोटबासीले रुपाको उपचारमा सहयोग पुरयाउने उद्देश्यले संकलन गरिएको सहयोग बुधबार याङजाकोट तमू समाज पोखरामा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

युके परिवारले आफना ५६ जना सदस्यबाट संकलन गरेको ४ लाख ७० हजार रुपैंया याङजाकोट परिवार युकेका सल्लाहार क्या.मनबहादुर गुरुङ र तेजबहादुर गुरुङ तथा इमानसिंह गुरुङले संयुक्त रुपमा पिडित रुपा गुरुङलाई हस्तारन्तण गरेका थिए ।

सोही कार्यक्रममा पिडित रुपाको मावली परिवार तथा आफन्तजनबाट संकलन गरिएको नगद ६३ हजार ७ सय ७० रुपैंया याङजाकोट तमू समाज पोखराका महिला समितिकी अध्यक्ष लक्ष्मी गुरुङले हस्तान्तरण गरेकी थिइन् ।

सोही कार्यक्रममा याङजाकोट क्रोम्छैं चेलीबेटीबाट नगद १० हजार रुपैंया अध्यक्ष खुसीरि गुरुङले हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा उपस्थित भएका याङजाकोट तमू समाज पोखराका अन्य सदस्यहरुबाट संकलन गरिएको नगद २४ हजार रुपैंया पनि आजै हस्तान्तरण गरिएको छ । यसरी जम्मा भएको रकमबाट पिडित रुपालाई नगद ५ लाख ७६ हजार ७ सय ७० रुपैंया प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै याङजाकोट परिवार युकेका सल्लाहकार क्या. मनबहादुर गुरुङले रुपालाई समाजले अहिले मात्रै नभएर आउने दिनहरुमा सहयोग गर्ने भन्दै आफनो मनोबल उच्च बनाएर अघि बढ्न आग्रह गरे । कुनै पनि काम सामुहिक रुपमा ग¥यो भने त्यसले चाँडै सफलता प्राप्त गर्ने भन्दै उनले रुपाको उपचारको लागि थप रकम जुटाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

यस्तै अर्का सदस्य तथा याङजाकोट तमू समाज पोखराका पुर्व अध्यक्ष तेजबहादुर गुरुङले हामी जहाँजता रहेता पनि आफ्नो भाषा र संस्कृति बिर्सन नहुने बताए । एकलाई पर्दा अर्कोले सहयोग गर्ने भावना सबैमा विकास हुनुपर्ने समेत उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस मादी गाउँपालिकाका संयोजक देवीजंग गुरुङले रुपाको सहयोगको लागि आफूले सक्दो सहयोग गर्ने बताए । यस्तै पत्रकार रोशनी गुरुङले रोगको दीर्घकालीन समाधानको लागि रुपा सहयोग समिति गठन गरेर अघि बढ्दा चाँडै मृगौला प्रत्यारोपणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

याङजाकोट तमू समाजका पुर्व अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले सबैले स्वस्थ रहन नियमित रुपमा योग ध्यान गरेमा धेरै फाइदा हुने बताए ।
सहयोग रकम ग्रहण गरेपछि पिडित रुपाले आफूलाई अहिलेसम्म सहयोग गर्ने सबै संघ संस्था तथा व्यक्तिहरुलाई हृदयदेखि नै धन्यवाद दिइन् । संकलन गरिएको रकम आफ्नो उपचारमा सहि ढंगले खर्च गर्ने वाचा समेत उनले गरे ।

कार्यक्रममा याङजाकोट परिवार युकेका अध्यक्ष क्या.सुर्यप्रकाश गुरुङले पठाउनुभएको पत्र याङजाकोट तमू समाज पोखराका सचिव क्या.घनबहादुर गुरुङले वाचन गरेर सबैलाई सुनाएका थिए ।

याङजाकोट तमू समाजका अध्यक्ष सु.चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष जेमप्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सचिव क्या.घनबहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: