
काठमाडौँ । नेपालमा थप १०८ जनामा कोरोना भाइरस (काभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १०८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसारले जानकारी दिएका हुन्।
आज सबैभन्दा धेरै सुर्खेतका १८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बझाङका १६ जना, कैलालीका ८ जना, दाङका ७ जना, काठमाडौँ र लम्जुङ ५/५ जना, सिराहा, चितवन, कास्की र अछामका ४/४ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै दैलेख र बाग्लुङका ३/३ जना, सप्तरी, धनुषा, डोटी, मुगु, बाँके, म्याग्दी, गोरखा, बाजुरा र कञ्चनपुरका २/२ जना तथा सुनसरी, झापा, तनहुँ, सर्लाही, नवलपरासी पूर्व, नुवाकोट, दार्चुला, मकवानपुर र सिन्धुपाल्चोकका १/१ जनामा पनि संक्रमण देखिएको छ ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ। हालसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
थप १३९ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप १ सय ३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना उपचारपछि निको भएका छन्।
यस्तै हालसम्म देशका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयअनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
हाल ८ हजार ६ सय ५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
