
काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका छन्। कोरोना पोजिटिभ भएको पाइएपछि उनीहरुलाई शनिबार राति अबेर मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। ७७ वर्षीय अमिताभले ट्वीट गर्दै आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका थिए।
बच्चन बाबु छोरालाई कोरोना भएपछि बलिउडले स्वास्थ्य लाभको कामना गरेको छ।
बलिउड अभिनेता रीतेश देशमुख, अभिनेता मनोज बाजपेयी, परिणीति चोपडा, अमीशा पटेल, अमीशा पटेल, चिरन्जीवीलगायत कैयौं हस्तीहरुले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्। यस्तै, बलिउड पाश्र्वगायक अदनान सामी र अभिनेत्री सिमी ग्रेवालले पनि बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्।
ऐश्वर्या र जया बच्चनको रिपोर्ट नेगेटिभ
यसैबिच अभिनेत्री ऐश्वर्या राय बच्चन र जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ। अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको परीक्षण गरिएकोमा ऐश्वर्या राय बच्चन र जया बच्चनकोे रिपोर्ट भने नेगेटिभ आएको छ ।
परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
