
पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम बढ्दै गएसँगै पोखरामा अनिवार्य मास्क लगाउन जारी गरिएको निर्देशन नमान्ने १०२ जनालाई प्रहरीले कारवाही गरेको छ ।
गत मङ्गलबार नेपाल सरकारले अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न, न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्न तथा पुर्ण रुपमा लकडाउनको पालना गर्न गराउन सबै जिल्ला प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो । यसै अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले आज (सोमबार) मास्क नलगाई हिड्ने र सम्झाउदा बुझाउदा अटेर गर्ने ८८ जना पुरुष र १४ जना महिला गरी जम्मा १०२ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो ।
नियन्त्रणमा लिएका उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय कास्की पठाई जनही रु एक सय जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
कास्की प्रहरीले न्युनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न सम्पुर्ण नागरिकहरुलाई आग्रह गरेको छ । नेपाल सरकारको उक्त निर्देशन नमाने संक्रामक रोग ऐन,२०२० अनुसार कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।
