तनहुँ पहिरोः मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ अझै बेपत्ता, ३ घाइते

Share:

तनहुँ । तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या सात पुगेको छ । आज (सोमबार) पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले पुरिएर व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको मृत्यु भएको भएको छ । यस्तैगरी ऋषिङ–८ पल्ट्याङमा पनि पहिरोले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । पहिरोले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यस्तै पहिरोमा परी व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल, ऋषिङ–८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा र २२ वर्षीय महादेव थापा अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य भैरहेको जनाइएको छ ।

त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: