
पोखरा । आज साउन १ गते अर्थात साउने संक्रान्ति । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा पनि लिइन्छ ।
ज्योषित विज्ञान अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । त्यही कारण यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
आजका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
धार्मिक आस्था राख्नेहरुले यस महिनालाई पवित्र मान्ने गर्छन् । यस अवधिम स्नान, होम, श्रद्धा, दान जस्ता काम गर्नु लाभदायक हुने विश्वास छ । साउनको पहिलो दिनदेखि नै सौभाग्यको प्रतिक र वस्त्र पहिरिने गरिन्छ । यस दिन नुहाएर तिउरी पनि लगाउने गरिन्छ । भगवान शिवको पूजा आराधना गरिन्छ । उपवास एवं ब्रत बसिन्छ । मासुजन्य एवं तामासी भोजन त्याग गरिन्छ । शरीरलाई शुद्ध गरेर मनलाई भक्ति–भजनमा लगाइन्छ ।
यसैगरी साउने संक्रान्तिको दिन आफ्नो खेतबारीमा उत्पादन भएको फलफूल चढाउने गरिन्छ । यसैगरी अनिकाल वा प्राकृतिक विपत्ति झेल्न नपरोस् भनी कामना गरिन्छ । अन्नदाता एवं प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ ।
