निजी विद्यालयमा आजदेखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी घर विदा

Share:

काठमाडौँ । निजी विद्यालयहरुले आजदेखि अनलाइन कक्षा बन्द गरेका छन् । प्याब्सन र एन–प्याब्सनले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी श्रावण १ गतेदेखि वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् ।

प्याब्सन तथा नेसनल प्याब्सनले ७ असारमा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेको थियो । तर त्यसको चौतर्फी विरोध भयो । सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । तर निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको जनाइएको छ ।

यसबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म ठोस निकास नआएको प्याब्सन तथा एन प्याब्सनले बताएको छ । यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालयहरु खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प हो भन्ने आफूहरुलाई महशुस भएको दुबै संगठनले संयुक्त वक्तव्यमा उल्लेख छ ।

शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पछिमात्र विद्यालय प्रशासन खुल्ला हुने जनाइएको छ। ‘विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीहरुको तलबलगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमशः भुक्तानी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: