
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटिको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने तय भएको छ।
यसअघि सहमतिका लागि भन्दै हिजो सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि स्थायी समितिबाटै निकास निकाल्ने प्रयासमा नेताहरु लागेका हुन् । सचिवालय बैठक सकिनेबित्तिकै ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गरेका थिए ।
गत असार १० गतेदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक लगातार सातौं पटकसम्म स्थगित हुँदै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको दुवै पदबाट राजीनामा माग गरेका थिए। तर, ओली भने दुवै पदबाट राजीनामा नदिने अडानमा छन्।
शीर्ष नेताहरुको अडानका कारण पार्टीमा विवाद चर्किएपछि सहमतिका लागि पटक पटक छलफल भएको छ। यसबीचमा ओली र प्रचण्डबीच पनि पटक पटक वान टु वान वार्ता भएको छ। तर अझै सहमति जुट्न सकेको छैन ।
