
काठमाडौँ । पूर्व सांसद तथा नेकपाका नेता बर्मन बुढाको निधन भएको छ।
रोल्पाको थवाङ घर भएका बुढाको आज (बुधबार) बिहान ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनी ९० वर्षका थिए ।
विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । उनको बुधबार विहान आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
बुढा २०४८ सालको निर्वाचनमा जनमोर्चा नेपालबाट रोल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। त्यतिबेला जनमोर्चाका नौजना सांसद निर्वाचित भएका थिए। जसमा बुढा पनि एक थिए।
थबाङका पाका कम्युनिस्ट नेता बुढा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता मानिन्छन् ।
यसैबिच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढाको निधनप्रति दुःख व्यक्त गरेका छन्। बुधबार बिहान समवेदना सन्देश जारी गर्दै प्रचण्डले बुढाको निधनले मर्माहत बनाएको जनाएका छन्।
‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेषगरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ,’ प्रचण्डले भनेका छन्, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ। संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तमा हार्दिक समवेदना प्रकट गर्दछु।’

