
काठमाडौँ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज–६ माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
सोमबार एडभान्स अस्पतालमा भर्ना भएका वर्णवालमा श्वासप्रश्वासको समस्या थियो । सोमबार नै उनलाई शंकास्पद कोरोना संक्रमितको रुपमा नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो एक बजेतिर गण्डकमा भर्ना भएका उनको मंगलबार अपरान्ह मृत्यु भएको थियो ।
मृत्युपछि उनको स्वाब संकलन गरि नारायणी अस्पतालको पीसीआर ल्याबमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको थियो ।
मृतकमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको जनाइएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
नेपालमा हालसम्म संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ। संक्रमित मध्य १२ हजार ८४० उपचारपछि निको भएका छन्।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
