
काठमाडौँ । आज (शुक्रबार) देशका धेरै स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानमा भने ठुलो पानी पर्ने सम्भावना रहेको बताइएको छ ।
यस्तै राति पनि धेरै स्थानहरुमा पानी पर्ने म्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ।
वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
