आज ऋषितर्पणी, जनै पूर्णिमा, क्वाँटी खाने दिन; गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Share:

पोखरा। हिन्दु सनातन धर्मालम्बीहरुले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाउने ऋषितर्पणी र रक्षाबन्धन अर्थात जनै पूर्णिमा आज (सोमबार) मनाइँदैछ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन तागाधारीहरुले जनै फेर्छन् । अघिल्लो दिन नै कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरेर बसेपछि तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दै जनै फेर्छन् ।

स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी खाइन्छ । यसरी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाल्ने मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ ।

आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् । बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् ।

गण्डकी प्रदेशमा सार्वजनिक बिदा

यस अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गण्डकी प्रदेशको राजपत्रमा प्रकाशित थप विदा सम्बन्धी सुचना अनुसार प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत वर्ष चैत २२ गते सूचन जारी गर्दै जनैपूर्णिमा सहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: