
पोखरा । कास्की जिल्ला फुटबल संघले संघ संग आवद्ध रहेको ५० जना खेलाडी, अफिसियल तथा कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।
विश्व कोरोना भाइरसको महामारीमा परिरहेको समयमा खेलाडी कर्मचारी तथा पदाधीकारीलाई हौसल प्रदान गर्ने उद्देश्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोगमा फुटबल संग आवद्ध रहेको ५० जनालाई सहयोग गरेको हो । कोरोनाको समयमा खेलाडी, अफिसियल तथा कर्मचारीलाई केहि राहत प्रदान गर्नको लागी सहयोग गरेको हो ।
एन्फाको कार्ययोजना अनुसार देशभर रहेका फुटबल संघ मार्फत फुटबलमा आवद्ध खेल पदाधिकारीलाई सहयोग गरेको छ । कोरोनाको विषम परिस्थितिमा समेत संघले आफ्ना खेलाडीलाई सम्झनुनै सरायिन कार्यरहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले बताए । ‘संक्रमण फैलिएको अवस्थामा सबै क्षेत्र प्रभावित भएको विशेष गरी खेल क्षेत्रभने बढिनै प्रभावित भएको छ । यतिबेला खेलकुदको गतिविधि ठप्प भएका छन् । खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् ’ गिरीले भने ।
खेलाडी मानसिक रुपमा तनावको अवस्थामा रहँदा संघले सम्मान योग्य काम गरेको उनको भनाइ रहेको छ । खेलाडीको संरक्षण गर्ने काम कास्की फुटबल संघले झै अन्य संघले पनि गर्नुपर्ने गिरीको धारणा रहेको छ । खेलाडीलाई नगद प्रदान पश्चात बोल्दै गिरीले खेलाडीको समस्या, सफलता र पिडाको कथा कलम मार्फत उजागर गर्ने मञ्चले खेलाडी हकहितको लागि काम गर्दै आएको औल्याए ।
कोरोनाको कारणले वर्षेनी प्रदान गर्दै आएको पोखरा स्पोर्टस अवार्ड समेत प्रभावित भएको बताए । ‘खेलाडीलाई प्रोत्साहन स्वरुप हामिले गर्दै आएको पोखरा स्पोर्टस अवार्ड कोरोनाको कारण प्रभावित बनेको छ । कोरोना संक्रमण सकिए हामिले अवार्ड वितरणलाई निरन्तरता दिने छौ’ उनले भने । संक्रमण बढ्दो क्रममा रहेकाले आफै सुरक्षित रहदैँ सरकारको नियम पालना गर्न समेत आग्रह गरे । सोहि क्रममा बोल्दै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खेलाडी तथा पदाधिकारीलाई केहि समय पहिले नै सहयोग गर्नुपर्ने भएपनि नाम संकलनको कारणले ढिला भएको बताए ।
एन्फाले मोफसलमा रहेका फुटबल संघ मार्फत खेलाडी तथा पदाधिकारीलाई सहयोग गर्नु खेलाडीको लागि मात्र नभएर संघको लागि समेत महत्वको विषय रहेको बताए । संघमा रकम आए खेलाडीलाई थप सहयोग प्रदान गर्ने उनको भनाइ छ । संघ मार्फत सहारा क्लब पोखराको लागि समेत आर्थिक सहयोगको लागि पहल भएको उनले बताए । सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले खेलाडीको हौसला प्रदानगर्न संघले गरेको कार्यप्रति आभार प्रकट गरे । त्यस्तै लायन्स क्लब अफ सेन्टेनियलका अध्यक्ष प्रगत कायस्थले संघले गर्ने हरेक सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एन्फाको आर्थिक सहयोग र लायन्स क्लब अफ पोखरा पोखराको आर्थिक सहयोगमा एक व्यक्तिलाई दुई हजार ५ सयका दरले सहयोग गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यलय प्रमुख लक्ष्मण योगी, जगत थापा लगायतले खेलाडीलाई हौसला प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । कोभिड १९ ले प्रभावित खेलाडी, अफिसियल र कर्मचारी गरि ५० जनालाई राहत वितरण गरिएको एन्फा कास्कीका उपाध्यक्ष एवम कार्यक्रम संयोजक इश्वर गुरुङले बताएका छन् । राहत प्राप्त गर्नेहरुमा ५ जना महिला खेलाडी, ७ जना अफिसियल र ३५ जना पुरुष खेलाडी तथा ३ जना पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारी हुन् ।
