
पोखरा । गएराति पोखरा–५ मालेपाटनमा भएको सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।
निषेधाज्ञाको पूर्व सन्ध्यामा वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (QRT) को ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई ग २ च २६२६ नम्वरको बोलेरो जिपले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबै प्रहरी गम्भिर घाइते भएका थिए ।
मंगलबार राती अन्दाजी १ बजे विश्वास पेट्रोलपम अगाडी सडक खण्डमा बाग्लुङ बस पार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको मोटरसाईकललाई सोही दिशाबाट आउँदै गरेको बलेरो जिपले पछाडीबाट ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाईकल पछाडी सवार ३४ वर्षीय प्रहरी हवल्दार डम्बर बहादुर थारू मृत्यु भएको हो । बर्दिया मैनापुर–२ घर भई हाल जिल्ला बर्दिया बढैयाताल–६ बस्दै आएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज दिउँसो १२ः३० मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै गम्भिर घाइते भएका मोटरसाईकल चालक २० वर्षीय प्रहरी जवान चन्द्र बहादुर बगालेको भने उपचारको क्रममा राती १ः५० बजे नै सोही अस्पतालमा मृत्यु भएको थियो ।
ठक्कर दिने जिप चालक धादिङको धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल के.सी.लाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्ः
पोखरामा ड्यूटिमा खटिएका प्रहरीलाई बोलेरो जिपले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते
