पोखरामा आज एकै दिन थपिए २० संक्रमित, गण्डकीमा ४७ जना थप, कूल १८१२ पुग्यो

Share:

पोखरा – गण्डकी प्रदेशमा आज  (बुधबार) मात्रै ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बिहान, दिउँसो र साँझको गरी ४ पटकको अद्यावधिक विवरण अनुसार प्रदेशका ६ जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु कास्की, बाग्लुङ, तनहुँ, गोरखा, लमजुङ र नवलपुरका छन् । बुधबार मात्रै कास्कीको पोखरा महानगरपालिकामा २०, बाग्लुङमा ८, तनहुँमा ३, नवलपुरमा १२, गोरखामा १ जना र बिभिन्न जिल्लाबाट आई लमजुङमा कार्यरत ३ जना रहेका छन् । आज थप भएका संक्रमितसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १८१२ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का २३ देखि ३६ वर्ष उमेर समूहका १६ जना पुरुषमा संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका १६ जना सबै प्रहरी रहेको खुलेको छ । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलका अनुसार पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिनमा बसेका प्रहरीमा कोरोना देखिएको हो । उनीहरु कार्यरत कार्यालय पोखरा ७ र स्याङ्जामा ड्युटी गरेर फर्किएपछि पोखरा ५ स्थित मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्‍वारेन्टाइनमा बसेका थिए । सुरक्षाका लागि विभिन्न समयमा कास्कीबाट स्याङ्जामा गएका प्रहरीमा कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्याङ्जामा प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट सुरक्षाका लागि प्रहरी स्याङ्जा लगिएको थियो ।

त्यसैगरी, आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा पोखरा-४ का ४७ वर्षीय पुरुष, पोखरा-२४ का १८ वर्षीय पुरुष तथा पोखरा-१२ का ३७ र ४० वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बागलुङको बागलुङ नगरपालिका-३ का ३ पुरुष र ३ जना महिलामा संक्रमण देखिएको छ भने लमजुङमा कार्यरत बडिगाड नगरपालिकाका २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यसैगरी बडिगाडकै ३४ वर्षीय पुरुष र जैमिनीका २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

तनहुँको देवघाटका २७ वर्षीय पुरुष, गोरखाको पालुङटारका ५० वर्षीय पुरुष, लमजुङमा कार्यरत धादिङको गंगाजमुना गाउँपालिका र नवलपुरको कावासोती नगरपालिकाका ३२ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण देखिएको छ ।

यसअघि बिहान गण्डकीमा नवलपुरका १२ जना र तनहुँका २ जना गरी १४ जनामा संक्रमण पुष्‍टि भएको थियो । संक्रमितहरुमध्ये केहीलाई आइसोलेसनमा राखिसकिएको छ भने अन्यलाई पनि लैजाने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: