
पोखरा । आज हरितालिका तीजको अघिल्लो दिन । दरखाने दिन । हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार ख्वाउने चलन छ। तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।
दर खाने दिनबाट तीज पर्वको सुरु हुन्छ। दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ।
सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म नपिई निराहार बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पौष्टिक तत्व भएका खानेकुरा खाने प्रचलन बसेको हो। तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने शास्त्रीय रुपमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिए ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
