नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

Share:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

नेकपाको विवाद समाधानका लागि गत साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको हो।

कार्यदलले सर्वसम्मतिले तयार गरेको प्रतिवेदन आज साँझ ४ः४५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले ट्विटरमार्फत जानकारी दिएका छन् ।

सो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डले छलफल गरी आगामी सचिवालय बैठकमा पेश गर्ने बताइएको छ ।

नेकपाको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा विवाद उत्पन्न भएपछि त्यसलाई समाधान गर्न अध्यक्षद्वयको एक्लाएक्लै र सामूहिक भेटमार्फत प्रयत्न गरेका थिए। तर सहमति जुट्न नसकेपछि त्यसको जिम्मा कार्यदललाई दिएका थिए।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

कमेन्ट गर्नुहोस्
Share: