
पोखरा महानगर सहित कास्की जिल्लाभार पाँच दिने निषेधाज्ञा जारी छ । आज चौथो दिन सकिँदा धेरै हदसम्म कस्केलीले पालना गरेको देखियो । कुशे औंशी र तीजलाई मध्येनजर गर्दै भिडभाड हुन नदिन लगाइएको निषेधाज्ञा अब के हुन्छ ? सबैलाई चासोको विषय छ ।
शनिबार मात्रै १६ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा संक्रमण कम भएको मान्न सकिँदैन । तर, तीजको भिडभाडलाई भने रोक्न सफल भयो । भदौ ३ गते राति १२ बजेबाट ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा भोलि र ७ गते राति १२ बजेबाट सकिँदैछ ।
पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी लकडाउन निरन्तर गर्नुपर्ने पक्षमा नभएपछि महानगरबासीको स्वास्थ्यको सवाल रहेकाले के गर्ने ? व्यापक छलफलको आवश्यकता औंल्याउँछन् ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको कोरोना रोकथाम मूल समितिको बैठक भोलि आइतबार बस्दैछ । मेयर जिसीले पाँच दिने निषेधाज्ञा अवधिको विश्लेषण गर्दै एक साता समयावधि थप गर्ने कि खुकुलो गर्ने वा हटाउनेबारे निर्णय हुने बताएका छन् ।
एक हप्ता पुनः लकडाउन समेत हुन सक्ने सम्भावना पनि छ । पोखरामै पनि कुनै वडामा नदेखिएको र कुनै वडामा व्यापक मात्रामा बढ्दै गएकाले वडागत हिसाबमा समेत कडा वा खुकुलो बनाउन सकिनेछ । बैङ्किङ, सार्वजनिक यातायात र भिडभाड हुने स्थानहरूमा कडाइ गरेर अन्य ठाउँ खुकुलो बनाउन समेत सकिनेछ ।
कास्कीमा जारी निषेधाज्ञाबारे ३ विकल्पमा छलफल गरी भोलि बेलुकासम्म निर्णय हुने प्रशासन श्रोतले जनाएको छ ।
