
पोखरा । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी । आज (आइतबार) नेपाली हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन्।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्।
हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।
आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ। ऋषि पञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण कोही जान सक्ने अवस्था छैन।
ऋषि पञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ।
बिहानैदेखि वाग्मती, मनोहरा लगायत नदी किनारमा प्रहरी राखेर नदी किनारमा स्नानका लागि भीड जम्मा हुन नदिने गरी व्यवस्था मिलाइएको उनले बताए।
नदीमा समूह जम्मा भएर स्नान गर्दा कोरोनाको सङ्क्रमण फैलन सक्ने भएकाले यस्तो आह्वान गरिएको वृत्तले जनाएको छ।
