श्रृंगार सामाग्री विक्री गरेको आम्दानीबाट बृद्धाश्रमलाई सहयोग

Share:

पोखरा । सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिन पारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् ।

सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखराको विरौटामा रहेको उक्त आमा समूहका दुईजना सदस्यले बुधबार पोखरा १७ स्थित पोखरा बृद्धाश्रममा नुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्कलगायतका सामाग्रीहरु वितरण गरेको समूहका अध्यक्ष नन्द कुमारी गुरुङले जानकारी दिइन् । कोरोना महामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस् भन्ने उद्धेस्यका साथ समूहमा आवद्ध पवित्रा पोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामाग्री प्रदान गरेका हुन् ।

बन्दाबन्दीकै समयमा उनीहरुले श्रृंगारका सामाग्रीहरु, चुरा, पोते, तथा कुशन र गुडिया बनाएर विक्री गरेका थिए । र ती सामाग्रीहरु बेचेर आएको आम्दानीबाट बृद्धाश्रममा सहयोग गरेको समूहका सल्लाहकार देवि थापाले बताइन् ।

सदस्यहरुले आफूहरुको पहिलो कमाइ नै समाज सेवामा खर्च गर्ने ईच्छा देखाएको भन्दै उनले बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुको आशिर्वाद पनि मिल्ने र राहत पनि पुग्ने भएकाले सहयोग गरिएको उनको भनाई थियो ।

सदस्यहरुका लागि गत वर्ष प्रदान गरिएको तालीममा सिकेको सीप प्रयोग गरी उनीहरुले श्रृङ्गारका सामाग्री बनाउन सफल भएका हुन् ।

लकडाउनमा सिकेको सीप पछिसम्म पनि काम लाग्ने भएकाले पितृहरुको आशिर्वाद लिन बृद्धाश्रममा सहयोग लिएर पुगेको समूहका सदस्य अन्जु क्षेत्रीले बताइन् । त्यस्तै कोरोना महामारीको बेला आफूले आर्जन गरेको रकमबाट बुबाआमाको आर्शिवाद लिएर सहयोग गर्न पाउँदा खुसी लागेको समूहका सदस्य पवित्रा पोखरेलले बताइन् ।

जनजागरण आमा समूहका सदस्यहरुको यस प्रकारको सहयोगले सबैलाई उदहारण प्रस्तुत गरेको भन्दै दुबैजनालाई अध्यक्ष नन्द कुमारी गुरुङले धन्यवाद व्यक्त गरिन् ।

कोभिड १९ को विषम परिस्थितिमा आमा समूहले गरेको पुण्य कार्यबाट निकै सहयोग पुग्ने बृद्धाश्रम सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले बताए । विषम परिस्थितिमा नेपाल सरकार, स्थानीय तहहरुबाट पनि खासै सहयोग हुन नसकेको उनको गुनासो थियो । बृद्धाश्रममा अहिले १ सय ४ वर्षीय बृद्ध सहित ५५ जना बृद्धबृद्धाहरु आश्रित रहेका छन् ।

सो अवसरमा बृद्धबृद्धाहरुले सहयोग प्रति आभार व्यक्त गर्दै विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसको अन्त्य भई पहिलेकै जस्तो जीवनयापन सहज होस भन्ने कामना गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: