
पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोनाबाट तनहुँ ब्यास–२ की २० वर्षीया युवतीको मृत्यु भएको हो ।
ती युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जनाएको छ ।
निर्देशनालयका अनुसार मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट त्रि. वि. अस्पतालमा रिफर गरिएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा बुधबार साँझ पनि थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार पाँचौ विज्ञप्ति जारी गरी बागलुङका १ र लमजुङका ७ गरी ८ जनामा कोरोना देखिएको जानकारी दिएको हो ।
संक्रमित हुनेमा बागलुङ गल्कोट की २१ वर्षीया महिला र लमजुङको बेसिसहरका २३ र २४ वर्षका २ पुरुष तथा २२ , ४१ र ५८ वर्षीया ३ महिला, मस्र्याङ्दीका २१ वर्षीय पुरुष र कोल्हसोथारका २९ वर्षीय पुरुष रहेका छन् ।
यस सँगै आज मात्रै गण्डकीमा ६२ जना संक्रमित थपिएका छन् ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ७३ पुगेको छ ।


