
पोखरा । म्याग्दी र नवलपुरमा बुधबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बुधबार बिहान अन्दाजी ७ः४५ बजे म्याग्दीको बेनी नगरपालिका–९ काउले गौडोका कृण्ण चोखालको श्रीमती २६ वर्षीया शिवा चोखालको करेन्ट लागेर मृत्यु भएको छ ।
उनलाई आफ्नै घर नजिक रहेको फुल टिप्ने क्रममा विद्युत लाईन लिक भई करेन्ट लागेको थियो । उपचारको लागि बेनी अस्पताल ल्याईएकोमा बिहान ८ः४५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी नवलपरासी पूर्व कावासोती– ९ का ४० वर्षीय लक्ष्मी प्रसाद महतोको पनि करेन्ट लागेर मृत्यु भएको छ ।
महतो कावासोती– २ स्थित कमल प्रसाद पौडेलको घरमा ट्रष्ट लगाउने क्रममा जस्ता पाताले विद्युतको तारमा छुन गई करेन्ट लागि गम्भिर घाईते भएका थिए । उपचारको लागि नवलपुर अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुवै स्थानमा प्रहरीको टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।
