
बाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा गएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । यस्तै बेपत्ता हुनेहरुको संख्या १३ पुगेको छ। भने ४ जना घाइते छन् । पहिरोले बुधबार राति सुप्राङ, लाँकुरीबोट र दुनेपधेराका गरी १५ घर बगाएको हो ।
पहिरोमा परी मृत्यु हुनेहरुमा बागलुङ ढोरपाटन–९ की २६ वर्षीया केशमाया विक, सोही स्थान निवासी अन्दाजी ३२, ३५, २२ , १३ ,३० वर्षका पाँच जना पुरुष व्यक्तिको शव फेला परेको छ । त्यस्तै अन्दाजी २२ वर्षीया महिला र १५ वर्षीया बालिकाको पनि शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हालसम्म ८ जनाको शव विभिन्न स्थानबाट निकालिएको भएपनि एक जनाको मात्र सनाखत हुन सकेको छ ।
बेपत्ता हुनेहरु ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशिला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी छन्।
भण्डारीसँग २ वटा मोटरसाईकलमा घुम्न गएका अन्य ३ जना सकुशल रहेका छन् भने मोटरसाईकल बगाएको छ ।
त्यस्तै चार जना घाइतेहरुमा बागलुङ ढोरपाटन–४ निवासी १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरिता घर्ती, ४२ वर्षीया धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर भुसुण्डेमा पार्किङ गरी राखेको ग१ज ४१२५ नं.को पिकअप जिप समेत बगाई लगेको, उक्त पहिरोले के कति मानवीय, चौपाय तथा भौतिक क्षति भयो भन्ने बारेमा खुल्न सकेको छैन ।
उक्त स्थानमा उद्दार तथा खोजी कार्यका लागि बाग्लुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रमुख, लगायत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि साथै ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको टोली खटिई गएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान तथा उद्दार कार्य भईरहेको बताइएको छ ।
