
पोखरा । कास्कीमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–१ का ६३ वर्षीय महिलाको उपचारका क्रममा भदौ २१ गते वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो ।
ती महिलामा ब्रेन ट्युमर तथा मृगौलाको समेत समस्या रहेको थियो । मृतक महिलालाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनको संख्या २० पुगेको छ ।
पोखराका ५ सहित गण्डकीमा ११ संक्रमित थपिए
यसैगरी गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान कास्की र नवलपुरका ११ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
बिहान कास्कीको पोखरा महानगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरा–१४ का ३७ वर्षीय पुरुष, पोखरा–१५ का २० वर्षीय पुरुष, पोखरा–१२ का २२ तथा २६ वर्षीय पुरुष र पोखरा– २७ का ४२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै मंगलबार बिहान नै चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपुरका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा गैंडाको नगरपालिका–२ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, ५ का ३८ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला र ८ का २५ वर्षीया महिला साथै नवलपुर कावासोती–२ का २३ वर्षीय महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय १२ पुगेको छ ।

