नेकपा स्थायी कमिटी बैठक आज बस्दै

Share:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ। साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।

बैठकका लागि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेल सहितको २२ भदौको बैठकमा सहमति भएको थियो ।

बैठकको छलफलका विषयहरुमा दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका प्रस्ताव तयार गरिएको छ।

यसैगरी मन्त्रिमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा छलफल गर्ने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्नेसहितका विषयमा समेत छलफल हुने बताइएको छ।

साथै कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: